कपाल प्रत्यारोपण खासमा एक किसिमको सीप हो- डा. धर्मेन्द्र कर्ण

काठमाडौं — हाम्रो मुलुकमा आधा दशकयता कपाल प्रत्यारोपणप्रतिको आकर्षण बढेको छ । कपाल प्रत्यारोपण राम्रैसँग भए त आफ्नो पनि आकर्षण पनि बढ्छ नै, तर त्यसमा कुनै तल–बितल भए परिणाम उल्टो हुन बेर लाग्दैन । कपाल उपयुक्त किसिमले नरोपिँदा उत्पन्न हुने समस्याका भुक्तभोगी पनि कम छैनन् ।

तिनैमध्येका एक हुन्– अनिल । लहैलहैमा लागेर कपाल प्रत्यारोपण गराउँदा निम्तिएको समस्या भोगिरहेका उनी भन्छन्, ‘पैसो खर्चेर कपाल रोपियो, तर अब अनुहार अर्कैको जस्तो लाग्छ । कपाल जे गरे पनि ठाडै बस्छ । आफूलाई अर्कै लाग्छ । तालु हुनुभन्दा अगाडि मेरो कपाल जस्तो थियो, अहिले त्यस्तो छैन ।’

धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्णका अनुसार, प्रत्यारोपण गर्दा कपालको डीएडी अर्थात् घनत्व, कोण र डिजाइन नमिले कपाल बिग्रिने गर्छ । ‘यस्तो कामले उपभोक्तालाई सन्तुष्टि दिँदैन,’ उनी भन्छन्, ‘उमेरको पाँच दशक नाघेका मान्छेलाई २० वर्षे युवकलाई जस्तो कपाल रोप्दा समस्या हुन्छ ।’

प्रत्यारोपण भन्नेबित्तिकै हामीलाई प्राय: मृगौला वा कलेजोसम्बन्धी चिकित्सकीय शल्यक्रियाको सम्झना हुन्छ । अनि कपाल प्रत्योरापण पनि जटिल नै होला भन्ने लाग्छ । कपाल प्रत्यारोपण पनि त्यति सजिलो त हुन्न, तर त्यति कठिन पनि हुन्न ।

‘कपाल प्रत्यारोपण खासमा एक किसिमको सीप हो,’ डा. कर्ण भन्छन्, ‘कसैमा कपाल प्रत्यारोपण गर्नुअघि यसका लागि सम्बन्धित व्यक्ति उपयुक्त छ कि छैन भन्ने ख्याल गर्नु अत्यन्त जरुरी छ । जसले पैसो खर्च गर्न रुचायो, त्यसैको प्रत्यारोपण गर्न तम्सिँदा परिणाम राम्रो नआउन सक्छ ।’
अमेरिकन सोसाइटी फर डर्मेटोलोजिक सर्जरी (एएसडीएस) का अनुसार, कपाल प्रत्यारोपण पर्याप्त तालिमप्राप्त छाला रोग विशेषज्ञ वा प्लास्टिक सर्जनले मात्र गर्न सक्छ । प्रत्यारोपण आकस्मिक उपचारको सुविधा भएको स्वास्थ्य निकायमा गर्न मात्र उपयुक्त हुन्छ ।

डा. कर्णका अनुसार, प्रत्यारोपण गर्न रुचाउने व्यक्तिको स्वयंको अलिकति पनि कपाल नभए, टाउकाको पछाडिको भागमा कपाल नभएवा शरीरमा अन्त कतैबाट कपाल निकाल्न सकिने ठाउँ नभए तालुमा कपाल रोप्न सकिँदैन । मधुमेह, उच्च रक्तचाप, रक्तस्राव हुने रोगहरू, मानसिक रोग, छारे रोगलगायतका बिरामीमा कपाल प्रत्यारोपण गरिँदैन । कुनै रोगका कारण कपाल झरेको भए पनि प्रत्यारोपण गराउनु हुँदैन ।

कपाल प्रत्यारोपण गर्नुअघि कुनै रोगको मुख्य शल्यक्रिया गर्नुअघि गरिने सबैजसो परीक्षण कपाल प्रत्यारोपणभन्दा अघि पनि गर्नैपर्ने हुन्छ । ‘छातीको एक्स–रे, मुटुको इसीजी, कुनै औषधि वा स्थानीय रूपमा लठयाउने औषधिको रियाक्सन हुन्छ वा हुँदैन भने जस्तापरीक्षणसमेत गरिन्छ,’ डा. कर्ण भन्छन् ।

यसपछि रोगी उपयुक्त देखिए प्रत्यारोपणको प्रक्रिया सुरु गरिन्छ ।

हाम्रो मुलुकमा हाल कपाल प्रत्यारोपण फलिक्युलर युनिट ट्रान्सप्लान्टेसन (एफयुटी) र फलिकुलर युनिट एक्सट्रयाक्सन (एफयूई) गरी दुई विधिले गरिन्छ । एफयूटी पुरानो विधि हो । यसमा टाँकासमेत लगाउनुपर्छ । एफयूटी विधिबाट कपाल प्रत्यारोपण गराउँदा टाउको दाग देखिने, प्रत्यारोपणपछि एक दुई सातासम्म दुख्ने, रगत धेरै बग्न सक्ने कर्ण औँल्याउँछन् ।

एफयूई नयाँ विधि हो र यसमा टाउकामा टाँका लगाउनुपर्दैन । यसमा सिधा दाग देखिँदैन, दुखाइ पनि प्रत्यारोपणको एक–दुई दिनसम्म मात्र हुन्छ । यो विधिअन्तर्गत रगत बग्दैन । ‘एफयूई प्रविधिबाट प्रत्यारोपण गराएकाहरू अर्को दिनदेखि काममा फर्किन सक्छन्,’ डा. कर्ण भन्छन् ।
अचेल कपाल मात्र नभएर आँखीभुइँ, जुँगासमेत प्रत्यारोपण गर्न थालिएको छ । यस्तै डढेको, पोलेको दागमा समेत कपाल प्रत्यारोपण गरिन्छ ।

तालु वंशाणुगत कारण मात्र खुइलिन्छ । अनि यस्तो टाउकाको अगाडि र बीचको भागमा मात्र हुन्छ । टाउकोको पछाडिको अर्थात् गर्धनको कपाल झर्दैन । यो ठाउँको कपाल निकालेर प्रत्यारोपण गर्दा त्यो जीवनभरि झर्दैन ।

गर्धनको पछिल्लो भागको कपाल जरासहित निकालिन्छ । यसरी निकालिएको कपाल एउटा–एउटा गरेर तालुमा लगाइन्छ । वा भनौँ, धान रोपेजस्तै रोपिन्छ । प्रत्यारोपणपछि कोष सक्रिय भएर रोपिएको ठाउँमा कपाल उम्रन थाल्छ ।

कपाल प्रत्यारोपणमा समेत अन्य शल्यक्रियाजस्तै जोखिम भए पनि यसमा भएको कार्य विधिलाई अनुकरण गर्दा त्यो अति कम हुने कर्ण बताउँछन् । यो शल्यक्रियामा पाँचदेखि सात घण्टासम्म लाग्छ । तर, कपाल निकालेको ६ घण्टाभित्रै रोप्नुपर्छ ।

कपाल निकाल्नुअघि नै कति कपाल निकाल्ने, कति रोप्ने भन्नेबारे गणना गरेपछि अप्ठयारो नहुने औंल्याउँदै डा. कर्ण भन्छन्, ‘तालुपना कति क्षेत्रमा छ, त्यसअनुसारको गणना गरेर रोप्ने प्रक्रिया सुरु गर्नुपर्छ ।’

कपाल रोपेको २४ घण्टासम्म ४५ डिग्रीको कोण बनाएर सुत्नुपर्छ । यसो नगर्दा प्रत्यारोपित कपाल निस्किने जोखिम हुन्छ । रोपिएको कपाललाई टाउकोमा फिक्स हुन धेरैजसो २४ घण्टा लाग्ने गर्छ । प्रत्यारोपणपछि एक सातासम्म गाह्रो काम गर्न हुन्न ।

‘प्रत्यारोपणपछि अनुहार र आँखा हल्का सुन्निने सम्भावना हुन्छ, तर यो एक–दुई दिनमा आफैं हराएर जान्छ,’ डा. कर्ण भन्छन् ।

कपाल रोपेको साता–दस दिनपछि १० देखि २० प्रतिशतसम्म कपाल आफैं झर्छ । यो कपाल पछि आउँछ । प्रत्यारोपण गरिएको तीनमहिनासम्ममा कपालको जरो बसिसकेको हुन्छ । ६ महिनादेखि ९ महिना वा कसैकसैको एक वर्षसम्ममा कपाल पूरै आउँछ ।

प्रत्यारोपण गरिएको कपाल जीवनभर रहन्छ । यो तपाईंको सामान्य कपालजस्तै बढ्छ पनि । यो कपाललाई सामान्य कपालजस्तै धुन, तेल लगाउन मात्र नभई मुडुलो पार्दा समेत पुन: कपाल पलाउँछ ।

Published in Ekantipur on : Jestha 6, 2074

Article By Atul Mishra

Search

+