हानिकारक रङबाट छाला बचाउने सौन्दर्य विशेषज्ञ डा‍. कर्णको सुझाव

4 Mar 2020 Cutis-care

जतिबेला अहिले जस्तो व्यावसायिक रूपमा रङ उपलब्ध हुन्थेनन्, त्यतिबेला होलीमा पानको पातबाट, गुलाब पत्र, सयपत्री, पालुंगो, बेसार, मेहदी आदिबाट तयार पारिने प्राकृतिक रङ एकापसमा दलेर होली मनाइने गरिन्थ्यो। होली रङहरूको पर्व हो।

यो दिन विभिन्न किसिमका रङ एकापसमा दलेर रमाइलो गर्ने गरिन्छ। तर, आफ्नो छालाको अवस्था र रङमा प्रयोग भएको केमिकलबारे जानकारी नहुँदा होलीलगत्तै छालामा विभिन्न समस्या लिएर उपचार गर्न आउनेहरू थुप्रै छन्। होलीमा रङ खेलेर रमाइलो गर्नुअघि केही तयारी गर्न सकियो भने रङबाट छालामा पर्ने नकारात्मक असरबाट जोगिन सकिन्छ।

कालो रङमा लिड अक्साइड, हरियोमा नीलो तुथो कपर सल्फेट, सिल्भर रङमा अल्मुनियम ब्रोमाइड, नीलोमा कोबाल्ट जिंक, रातो रङमा पारो (मर्करी) तथा अब्रकको धुलो मिसाइएको हुन्छ। यी तत्वले हाम्रो छालामा असर गर्छन्। सामान्य एलर्जीदेखि क्यान्सरसम्म हुने खतरा हुन्छ। कालो रङले किड्नीमा असर गर्छ।

हरियो रङले आँखाको एलर्जी, अनुहार सुनिने र अस्थायी अन्धोपन ल्याउने खतरा हुन्छ। सिल्भर कलरले छालाको क्यान्सर हुने खतरा हुन्छ। नीलो रङले एलर्जी र रातोले स्किन क्यान्सर हुने खतरा हुन्छ।रङलाई लेदो बनाएर, पाउडरका रूपमा पानीमा घोल बनाएर प्रयोग गर्ने गरिन्छ। रङले छालामा प्रयत्क्ष तथा अप्रत्यक्ष रूपमा असर गर्छ।

प्रत्यक्ष रूपमा गर्ने असर
रङमा केमिकल मिसिइने भएकाले यो छालामा दलेपछि यसबाट धेरैलाई एलर्जी हुन्छ। जसको छालामा पटक–पटक एलर्जी हुन्छ, सुक्खा छ, घाउखटिरा छ भने रङ दल्दा यो अझै बढेर जान्छ। रंङका कारण छाला चिलाउने, रातो हुने, पानी भरिएको फोका आउने समस्या देखापर्छ। एक्जिमाको रूपमा पनि देखापर्नसक्छ। कसै–कसैलाई रङका कारण रुघाखोकी लाग्ने पनि हुन्छ।

अप्रत्यक्ष रूपमा गर्ने असर
छालामा रङ दलेपछि यसलाई हटाउन विभिन्न किसिमका साबुन, फेसवास प्रयोग गरेर रगड्दा छालाको माथिल्लो भाग खुइलिन्छ। त्यसपछि छालाको इन्फेक्सन हुने खतरा हुन्छ। छाला पोल्ने, दाग बस्ने समस्या हुन्छ। डन्डीफोर, छालाको एलर्जी भएकाहरूलाई रङले अझै धेरै दुःख दिन्छ। कपालमा रङ लगाउँदा पछि कपाल झर्ने समस्या देखापर्छ। नङको कापमा रङ पर्दा नङ पाक्ने समस्या देखापर्छ। रङका कारण आँखा तथा कानको एलर्जी हुन्छ। घाउखटिरा छ भने एलर्जी हुने सम्भावना अझै बढ्छ।

होली खेल्नुअघि के गर्ने
आफ्नो शरीरको तथा अनुहारको छालामा कुनै समस्या छैन र रङको एलर्जी पनि छैन भने होलीमा रङ दलेर रमाइलो गर्न सकिन्छ। होली खेल्नुभन्दा अघिल्लो दिन शरीरमा जैतुन वा नरिवलको तेल लगाउनुपर्छ। हातखुट्टामा भ्यासलिन लगाए बेस हुन्छ। पूरै शरीर ढाक्ने गरी खुकुलो कपडा लगाउनुपर्छ।

शरीरमा तेल लगाएपछि रङ दल्दा त्यसले छालालाई खासै असर पुर्‍याउँदैन। होलीको दिनमा पनि बिहान शरीरमा तेल, अनुहारमा सनस्क्रिन तथा म्वइस्चराइजर लगाएर होली खेल्न निस्कनुपर्छ।

होलीमा प्रयोग गरिने रङ छनोट गर्दा सकेसम्म कम केमिकल मिसिएको हुनुपर्छ। एक वा दुई घण्टा होली खेलेर नुवाउनुपर्छ। नुहाउँदा नरम खालको साबुन प्रयोग गर्नुपर्छ। नुहाएपछि तेल वा म्वइस्चराइजर प्रयोग गर्नुपर्छ। होलीमा रङ खेलेपछि छालामा कुनै असर देखिएमा तुरुन्त छालारोग विशेषज्ञसँग परामर्श गरेर उपचार गराउनुपर्छ।

Article published in Annapurna Post on 18th Falgun 2074

Search

+